होटल क्राउन प्लाजा घटना : युवतीको आत्महत्या कि हत्या ?
गत असोज २४ गते काठमाडौँको कमलपोखरीस्थित होटल क्राउन प्लाजामा जल्दै गरेको अवस्थामा एक युवतीको उद्धार भयो । युवतीलाई उद्धार गरेर अस्पताल पुर्याएपनि उनको उपचारका क्रममा मृत्यु भयो । युवतीको मृत्यु लगत्तै प्रहरीले युवतीसँगै होटलमा पुगेका बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका २६ वर्षीया केशव रिजाल र होटलका कर्मचारी पदम कुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।
असोज २४ गते दिउँसो अन्दाजी २ बजेको समयमा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बौद्ध महांकाल घर भएकी २३ वर्षीय फिवी खनाल र बाराको जितपुर सिमरा घर भएका २६ वर्षीय केशव रिजाल कमलपोखरीस्थित होटल क्राउन प्लाजामा पुगेका थिए । उनीहरूले होटलमै केही नास्ता र चुरोट पिएको प्रहरीले जनाएको छ । त्यसपछि केशव र फिवी होटलको कोठामा पुगेका थिए । होटलको कोठामा पुगेको केही समयमा नै फिवीको शरीरमा आगो लागेको थियो ।
शरीरमा आगो लागेपछि सुरुमा होटलको कोठामा सँगै रहेका केशव रिजालले होटलमा रहेको अग्नि नियन्त्रण यन्त्र (फायर इक्सटिनङग्युसर) बाट फिवीको शरीरमा लागेको आगो नियन्त्रणमा लिए । त्यसलगत्तै ट्याक्सीमा राखेर फिवीलाई उपचारका लागि वीर अस्पताल पुर्याए । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कीर्तिपुरस्थित वर्न अस्पतालमा थप उपचारका लागि लगियो । उपचारको क्रममा फिवीको असोज २५ गते बिहान मृत्यु भएको थियो । फिवीको मृत्युपछि उनका बुवाले सँगै होटलमा गएका प्रेमी केशव रिजालविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा प्रहरी वृत्त मालीगाउँले सँगै होटलमा रहेका केशव रिजाल र होटलका कर्मचारी पदम कुमार श्रेष्ठ उपर अनुसन्धान गरिरहेको छ ।