जसपाको प्रतिवद्धतापत्र : माओवादी र एमालेबारे मौन कांग्रेस ‘सर्वसत्तावादी'
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आफ्नो प्रतिवद्धतापत्र तयार गरेको छ । छपाईको क्रममा रहेको सो प्रतिवद्धतापत्र आगामी हप्तामा सार्वजनिक गर्ने जसपाले जनाएको छ ।
सत्ता गठबन्धन छाडेको जसपा पछिल्लो समय नेपाली कांग्रेसप्रति कडा रुपमा प्रस्तुत भएको छ । प्रतिवद्धतापत्रको प्रस्तावनामै उसले कांग्रेसलाई ‘सर्वसत्तावादी’ संज्ञा दिएको छ । जसपाकै एक नेताका अनुसार प्रतिवद्धतापत्रमा नवउदारवादी पुँजीवादी व्यवस्थाको रक्षालाई नै आफ्नो ध्येय ठान्ने कांग्रेसको राजनीतिक चरित्र सत्ता प्राप्ति रहेको उल्लेख छ । सत्ताको बलमा शक्ति आर्जन गर्ने, शक्ति स्रोतमाथि आफ्नो आधिपत्य जमाउने र त्यो आधिपत्यका लागि राजनीतिक अस्थिरता निम्त्याइरहेको आरोप जसपाले कांग्रेसमाथि लगाएको छ ।
कांग्रेसले नै संविधानलाई पूर्णता दिन पहल नगरेको आरोप पनि जसपाको छ । नेपालको संविधान कांग्रेस, एमाले, माओवादी केन्द्रले बहुमतको बलमा जारी गरेको दाबी गर्दै जसपाले संविधानमा ती दलहरुले पहिचान र सामर्थ्यताका आधारमा राज्य पुनर्संरचना गर्ने आफैले घोषणा गरेको तथा पहिलो संविधानसभाले पारित गरेका पुनर्संरचनाका आधारहरुलाई उल्ट्याएको आरोप लगाएको छ ।
शासकीय स्वरुपमा परिवर्तन, संघीय संरचनाहरुको निर्माण, न्याय प्रणालीलाई संघीय स्वरुपमा पुनर्संरचना गर्न, संवैधानिक निकायलाई बलियो बनाउन, जनलोकपाल जस्ता निकायहरुको गठन गर्न, उत्पीडित समुदायको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्नेलगायतका कार्य गर्न संविधान संशोधन अपरिहार्य रहेको उल्लेख गर्दै जसपाले संविधान संशोधन अहिलेको मुख्य संघर्ष रहेको प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ ।
नेपालमा साम्यवादी विचारधारा, पुँजीवादी विचारधारा तथा राजतन्त्रात्मक विचारधारासहित तीन विचारधाराको पार्टी रहेको उल्लेख गर्दै जसपाले आफ्नो प्रतिवद्धतापत्रमा यी विचारधारा असफल भएका कारण जसपाले समाजवादी गणतन्त्रलाई राजनीतिक गन्तव्य बनाएको उल्लेख गरेको छ ।
जसपा नेपाल र अन्य दलका बीच देशको राज्य पुनर्संरचना, शासकीय स्वरुप, व्यवस्थापकीय ढाँचा, न्यायपालिकामाथिको दृष्टिकोण, प्रदेशको सीमांकन र नामंकन, संघ र प्रदेशबीच क्षेत्रधिकारको बाँडफाँटलगायमा विषयमा फरक दृष्टिकोण रहेको कुरा आफ्नो प्रतिवद्धतापत्रमा उल्लेख गरेको जसपाका एक नेताले बताए ।