बाजुराको जिससको सबै पदमा एमाले उम्मेदवार सर्वसम्मत
जिल्ला समन्वय समिति बाजुरामा अन्य दलले उम्मेदवारी नदिएपछि सबै पदमा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत चयन भएका छन् ।
समन्वय समितिको प्रमुखमा एमालेका तुलसीराम रोकाया र उपप्रमुखमा लाछु सार्कीसहित ९ सदस्यीय समन्वय समिति सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।समन्वय समितिको खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महत्तरा, महिला सदस्यमा कल्चुदेवी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्ब देबी विक सर्वसम्मत भएका छन् । सर्वसम्मत चयन भएका प्रमुख, उपप्रमुखसहित सदस्यहरुले आइतबार पदभार ग्रहण गरेका छन् ।जिल्ला समन्वय समितिका प्रमुख रोकायालाई मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि उनले उपप्रमुखसहित अन्य सदस्य शपथ खुवाएका थिए ।९ स्थानीय तह रहेको बाजुरामा ३० वैशाखमा भएको निर्वाचनमा ५ वटा र २३ असारमा बुढीगंगा नगरपालिका समेत गरेर ६ पालिकामा नेकपा एमालेले जितेको थियो । ६ पालिका जितेपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत थियो । सोही कारणले अन्य दलले उम्मेदवारी नदिएका हुन् ।