गुड्ने मिनी अस्पताल!
नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन्। त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ।
तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण कुनै एउटा गाडीमा हुन्छ।त्यसभित्र एउटा होइन छ/छवटा सुविधायुक्त शय्या र साथमा सिसीक्यामेरा। मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित मुलुकमा प्रयोगमा भइरहेका छन्, तर हाम्रोजस्तो विकासोन्मुख मुलुकमा त्यस्तो सेवा प्राप्त सवारीसाधन सञ्चालन होला? हामी धेरैलाई विश्वास लाग्न गाह्रै हुन्छ।अब भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता सवारीसाधनलाई नेपालमा भित्र्याएर अविश्वासलाई विश्वासमा बदलिदिएको छ। एउटा जटिल बिरामीलाई अस्पतालले उपचार गर्ने संविधानसहितको सेवा प्राप्त हुने सवारीसाधन नेपालमा पहिलोपटक भित्रिएको हो। अबका विपत्तिमा ती गाडीले नेपालमा पनि सेवा थाल्नेछ र अकालमा हुने मृत्युलाई घटाउन सहयोग गर्नेछ।चिकित्सक नआइपुग्दा पनि टेलिमेडिसिनको रूपमा चिकित्सकलाई जोडेर उक्त गाडीभित्रै बिरामीको उपचार र निगरानी गर्नसमेत सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए।
उनले उक्त गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पतालका रुपमा लिइएको र विपदमा परेका मानिसको ज्यान बचाउन सहयोगी हुने विश्वास रहेको बताए।
उनले यस्तो प्रकारको गाडी नेपालमा पहिलोपटक भित्रिएको दाबी पनि गरे। यस्ता सुविधायुक्त आठ ठूला गाडी र आठवटा ‘ए क्लास’का एम्बुलेन्स सञ्चालन र व्यवस्थापनका लागि सशस्त्र प्रहरीले जिम्मेवारी प्राप्त गरेको छ। सरकारले उक्त गाडी मल्टी डोनर ट्रष्ट फण्ड र विश्व बैंकको व्यवस्थापन सहयोगमा प्राप्त गरेको हो।
मुख्यतः उक्त फण्डमा अमेरिकी सहयोग नियोग (युएसएड), बेलायती सहयोग नियोग (एमसिडिओ), क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पाेरेशनको पैसा परेको छ।
गृहमन्त्री बालकृष्ण खाणले शनिबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई ती गाडीको चाबी हस्तान्तरण गरेका छन्। उक्त गाडीहरू हरेक प्रदेशमा एक–एकवटा र केन्द्रमा एकवटा रहनेछ जनाइएको छ।
विपत्तिमा परेका र गम्भीर घाइते भएका मानिसलाई अस्पताल ल्याउन नसक्ने अवस्था भएमा, तत्कालै उपचार जरुरी परेमा सोही गाडीमा राखेर उपचार गर्न सकिन्छ। गाडीभित्रै छ जनालाई सुविधायुक्त शय्यामा राखेर उपचार गर्न सकिन्छ भने केही बिरामीलाई अन्य कुर्सीमा समेत राखेर उपचार गर्न सकिने सुविधा छ।प्राकृतिक विपद्को चुनौती सामना गरिरहेको नेपालजस्तो मुलुकका लागि उक्त गाडीको प्रयोगले विपद्मा परेका मानिसको अकाल मृत्युबाट जोगाउने विश्वास गरिएको छ। नेपाल प्राकृतिक र अन्य विपद्को ठूलो जोखिममा रहेको तथ्य हामी सबैमा विदितै छ।कठिन भौगोलिक अवस्थाको कारणले भूकम्प, बाढी र पहिरो, डुबान, आगलागीजस्ता विपद् बल्झिरहन्छ । कोभिडजस्ता ठूला महामारीको सम्भावना पनि उत्तिकै छ। सडक, हवाई र निर्माणसम्बन्धी ठूला दुर्घटना भइरहेको छ। त्यसैले जनताको जीवनरक्षाका लागि यस्ता गाडी सहयोगी हुन्छ।