सहरमा पानीलाई छैन बाटो
बुधबार काठमाडौंको सिंहदरबारसँगैको न्यू प्लाजा क्षेत्रको सडक जलमग्न भयो । पैदलयात्रुले फुटपाथमा पनि खोला तरेजसरी हिँड्नुपर्यो ।
गत वर्षमात्रै पुरानो ढल प्रणाली हटाएर नयाँ हालिएको थियो । न्यू प्लाजामा क्षेत्रमा आएको ‘बाढी’ले ठूलो सरकारी लगानीमा बिछ्याइएको नयाँ ढल प्रणालीको कमजोरी देखाएको छ ।
अली ठूलो पानी पर्दा काठमाडौंका सडकमा भेल बग्नु नौलो हैन । पछिल्लो समय भने यसअघि खासै भेल नदेखिने क्षेत्रमा पनि वर्षा हुनासाथ खहरे बाढी बग्न थालेको छ । सडकमा नछोपिएका ‘म्यानहोल’ (मंगाल)हरुमा परेर मान्छे तथा सवारी दुर्घटना हुने जोखिम पनि उत्तिकै बढेको छ ।
काठमाडौंमा ढल निर्माण र मर्मतको जिम्मेवार निकाय काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) हो । केयूकेएलले खानेपानीको बिलमा ५० प्रतिशत रकम थपेर ढल व्यवस्थापन शुल्क असुल्ने गरेको छ ।
आकाशे पानी ढल प्रणालीमा खसाल्न सडकमा बनाइने नाली र त्यसलाई खोलासम्म लैजाने ढल प्रणाली नै जाम हुने समस्या देखिएको छ । स्थानीय तह निर्वाचनपछि १४ जेठमा बसेको काठमाडौं महानगरपालिकाको पहिलो बैठकमा अधिकांश वडाध्यक्षले यो बिषय उठाएका थिए ।
उपत्यकाको सबैजसो क्षेत्रमा घर बनेर खुला ठाउँ हराइसकेको छ । ढल व्यवस्थापनविज्ञ तिलक मोहन भण्डारी आकाशबाट परेको पानी अडिएर जमिनले सोस्ने अवस्था नै नरहेको बताउँछन् ।