दुईजना नक्कली परीक्षार्थी पक्राउ मकवानपुरबाट
हेटौंडा उपमहानगरपालिका-१ स्थित स्कुलमा सञ्चालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।कास्कीको पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दिपेन्द्रप्रसाद बास्ताकोटी बिहीबार बिहान पक्राउ परेका छन् ।
महोत्तरी साविक पोखभिण्डा गाबिस बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उनको झोलाबाट नगद ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ थान नागरिकतासमेत फेला पारी प्रहरीले बरामद गरेको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिका-११ स्थित यातायात ब्यवस्था कार्यालय हेटौंडाले लिईरहेको मोटरसाइकलको सवारी चालक अनुमती पत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका-७ बस्ने २० वर्षीय सन्तोष गौतम बिहीबार दिउँसो पक्राउ परेका छन् ।