बालेनले भने- अब कुहिने र नकुहिने फोहोर नछुट्याए पठाउँछौं फिर्ता
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापनमा सघाउन महानगरबासीलाई सार्वजनिक रुपमा अपील गरेका छन् । समाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले अब फोहोर उठ्ने तर कुहिने र नकुहिने फोहोर घरमै छुट्याएको हुनुपर्ने बताएका छन् ।
मेयर साहले नछुट्याई राखिएका फोहोर महानगरपालिकाले नलिने र फिर्ता गर्ने उल्लेख गरेका छन् । ‘यो सबैको लागि निसन्देहः खुसीको खबर हो । अहिलेसम्म फोहोर थुपि्रएर पाउनु भएको दुखका लागि क्षमाप्रार्थी छौं,’ उनले लेखेका छन्,’कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिँदा र अप्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद छ ।’
मेयर साहले फोहोर उठ्नु मात्रै समस्याको समाधान नभएको भन्दै अझै धेरै गर्न बाँकी कुरा रहेको बताएका छन् । ‘फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौं, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुँदैन,’ उनले लेखेका छन् ।