सवारी दुर्घटना हुँदा वीरगञ्जका दुई वडाध्यक्षसहित ८ जना घाइते मकवानपुरमा
मकवानपुरको गढी गाउँपालिका– २ जीपलाइनमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् ।वीरगञ्ज महानगरपालिका वडा नं २९ र ३० का नव निर्वाचित वडा अध्यक्षहरु क्रमशः ३२ वर्षीय मनोज कुमार यादव र ५२ वर्षीय धर्मेन्द्रप्रसाद महतो थारुसहित ८ जना घाइते भएका छन् ।घाइते धमेन्द्रको बायाँ गाला र बायाँ हातमा सामान्य चोट लागेको छ भने मनोजको दायाँ कुममा चोट लागेको छ ।
यस्तै घाइते हुनेहरुमा वडा नं २४ का वडा सदस्य ३० वर्षीय सद्दाम हुसेन आलम, वडा नं २५ का वडा सदस्य ३१ वर्षीय जगदिश साह र वडा नं ३२ की दलित महिला सदस्य ३१ वर्षीया पुजादेवी राम पनि घाइते भएकी छिन् । उनीहरुको निधार, टाउको, गाला, हातमा चोट लागेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार दुर्घटनामा चालक वीरगञ्ज–२० बस्ने भानु यादव, वडा नं १७ का श्रवण यादव, वीरगञ्ज– २४ बस्ने ४० वर्षीय सन्त यादव पनि घाईते भएका छन् । सवारी चालक भानु भने दुर्घटनापछि फरार छन् ।