‘कबड्डी ४’को प्रदर्शन हलबाहिर तनाव चर्किएपछि एफक्युबले रोक्यो
अभिनेत्री मिरुना मगरलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ एक युवकलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएपछि चावहिलस्थित एफक्युब मल्टिप्लेक्सले फिल्म ‘कबड्डी ४’को प्रदर्शन रोकेको छ ।
एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको हो । हल प्रशासनका अनुसार स्थिति सामान्य बनेपछि मात्रै फिल्म प्रदर्शन हुनेछ ।
अभिनेत्री मगर ‘कबड्डी ४’की नायिका समेत हुन् । उक्त फिल्म प्रदर्शनका क्रममा हल भ्रमणमा निस्किएका मगरसहितको कलाकार टोली आइतबार बेलुका सिभिल मलमा पुगेको थियो । सिभिल मलको एक कफी सपमा एक बौद्ध भिक्षुले दुर्व्यवहार गरेको आरोप अभिनेत्रीले लगाएकी छन् ।
ती युवकलाई रिहाइ गर्नुपर्ने माग गर्दै केएल टावरबाहिर मंगलबार बिहानैदेखि प्रदर्शन भएको थियो । बौद्ध समुदाय र तामाङ संघसंस्थाले फिल्मको पोस्टर समेत जलाएका थिए ।