प्रतिभा चोटग्रस्त, झरनाले खेल्न छाडिन्, समस्यामा न्यू डायमन्ड
दश दिनपछि आयोजना हुन लागेको छैठौं एनभीए क्लब लिग भलिबलको साविक विजेता टोली हो– न्यू डायमण्ड । २०७७ मा आयोजित पाँचौं संस्करणमा पहिलोपल्ट पाएको यो सफलतालाई निरन्तरता दिन यसपल्ट क्लबलाई कठिन हुने देखिएको छ ।
गएको असोजमा आयोजित एनभीए क्लब लिग च्याम्पियनसिपको उपाधि जितेको न्यू डायमण्डले सोही आधारमा क्लब लिग खेल्दैछ । प्रमुख खेलाडीको अनुपस्थितिका कारण न्यू डायमण्डका लागि यसपल्टको लिग प्रशिक्षक कुमार राईकै शब्दमा ‘आकाशको फल आँखा तरी मर’ भने झैं हुने भएको छ ।
राष्ट्रिय टोलीका प्रमुख स्पाइकर प्रतिभा माली पुरानो चोट बल्झिएपछि उपचारको क्रममा छिन् । राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी अरुणा शाही माघमा आयोजित टाइगर कप भलिबल प्रतियोगितादेखि नै न्यू डायमण्ड टिममा छैनन् । उनले तीन वर्षदेखि क्लबका लागि खेलिरहेकी थिइन् । अर्की उदीयमान स्पाइकर झरना श्रेष्ठले पारिवारिक कारण देखाउँदै भलिबल खेल्न छाडेकी छन् । अर्की उदीयमान खेलाडी रिया कुँवर एसईई परीक्षाका कारण प्रशिक्षणमा छैनन् ।
यी खेलाडीको अनुपस्थितिले घरेलु महिला भलिबलको ‘पावर हाउस’ न्यू डायमण्डलाई ठूलो धक्का लागेको छ । महत्वपूर्ण पोजिसनका अनुभवी खेलाडीको अनुपस्थितिले न्यू डायमण्डलाई साख जोगाउनै चुनौति हुन थालेको प्रशिक्षक कुमार राई स्वीकार्छन्