काठमाडौं कथा : फूलैफूलको शहर भइदिएको भए
यतिबेला काठमाडौं शहरका कतिपय ठाउँ रंगबिरंगी बगनबेली फूलले ढकमक्क छ । सडक छेउ, पर्खाल, खोला किनारलाई बगनबेलीले रहरलाग्दो बनाएको छ । त्यसैले त टिकटक बनाउनेदेखि फोटो खिच्नेहरुलाई यी मनोहर दृश्यले लोभ्याएको छ ।
यसअघि सिनामंगल, एयरपोर्ट, प्रदर्शनीमार्गलगायत स्थानलाई आरुका फूलले सृंगारेको थियो । मझौला रुखमा ढकमक्क फूलेका आरुका फूलले शहरको सौन्दर्य बढाइदिएको थियो ।
अब केही समयपछि काठमाडौंको मध्यभाग मानिने घण्टाघर, दरबारमार्ग, टुँडिखेल र सातदोबाटो सडक किनारमा ज्याकरान्डाले शहरलाई हराभरा बनाउनेछ ।
अक्सर काठमाडौंको चर्चा गरिरहँदा यसको कुरुप पाटो उधिन्ने गरिन्छ । भनिन्छ, यो धुवाँधुलोको शहर हो, यो दुर्गन्धको शहर हो, यो क्रंकिडको शहर हो, यो विद्युतीय तारहरूले जेलिएको शहर हो । तर, हावापानी र माटोले भन्छ, यो उर्बर शहर हो । यो सुन्दर शहर हो ।