टीटी खेलाडी उत्पादनमा अग्रणी एभीएम क्लब
२०७६ मा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा टेबलटेनिस (टीटी) खेलबाट नेपालको पुरुष टोलीले रजत पदक जित्दा पुरुषोत्तम बज्राचार्यका लागि दोब्बर खुसीको क्षण थियो । पदकको सुख एकातर्फ थियो, अर्कोतर्फ आफ्नै चेला संयोग कपालीसँग एउटै टिममा रहेर खेल्नु ।
ललितपुरकै पुरानो विद्यालयमध्येको आदर्श विद्या मन्दिरको एभीएम टीटी क्लबमा २० वर्षदेखि गरेको मिहिनेतले १३औं सागमा सार्थकता पाएको थियो । महिलातर्फ आफ्नै चेलीहरु सिक्का सुवाल श्रेष्ठ र दीक्षा तामाङ सम्मिलित टोलीले कांस्य जितेर सुनमा सुगन्ध थपेका थिए ।झण्डै ६० वर्षको इतिहास बोकेको आदर्श विद्या मन्दिरले सुरुवातदेखि नै खेलकुदलाई प्राथमिकतामा राखेको हो । फुटबल, भलिबल, बास्केटबल, मार्शलआर्ट र टेबलटेनिस मुख्य खेलहरु थिए । सन् १९९१ मा श्रीलंकाको कोलम्बोमा आयोजित पाँचौं दक्षिण एसियाली खेलकुदमा नेपालका सिजरिन शाह र गीता क्षेत्रीले महिला टिम स्पर्धामा स्वर्ण पदक जितेका थिए । सिजरिनले एभीएम स्कुलबाटै टीटी करिअर सुरु गरेकी थिइन् । टीटीमा त्यसयता अहिलेसम्म स्वर्ण पदक आएको छैन ।