अन्त टिकटको हानथाप, माओवादीलाई गठबन्धनकै पिरलो
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा एक्लै चुनाव लड्न तयार भएको नेकपा माओवादी केन्द्र उम्मेदवारका विषयमा भने अलमलमा परेको छ ।
किनभने नेपालगञ्जको स्थानीय कमिटीले केन्द्रबाट पाउनुपर्ने निर्देशन पाएकै छैन । केन्द्रबाट के निर्देश हुन्छ सोही अनुसार गर्ने नेपालगञ्ज महानगर कमिटीको तयारी छ ।
‘पहिले गठबन्धन हुने/नहुने टुंगो लाग्नुपर्यो । हिजो हामीले एक्लै लड्छौं त भन्यौं तर, गठबन्धन भत्काउन नहुने पार्टीको नीतिका कारण उम्मेदवारी दर्ताका लागि पर्खिएका छौं’ नेपालगञ्जका एक स्थानीय नेताले भने । उनका अनुसार माओवादी उम्मेदवार तय गर्नमा भन्दा गठबन्धनमा सकेसम्म धेरै भाग पाउने उपायको खोजीमा छ ।
पाँच दलीय गठबन्धनमा नेपालगञ्जको मेयरमा कांग्रेस र उपमेयर जनता समाजवादी पार्टीले लिने सहमति भएको छ । मेयरमा दाबी गर्दै आएको माओवादी केन्द्रले उपमेयर समेत नपाएपछि २३ मध्ये १२ वटा वडा अध्यक्षमा दाबी गर्यो । तर, कांग्रेस र जसपा माओवादी केन्द्रलाई १२ वटा वडा नेतृत्व दिन तयार भएन । त्यसपछि माओवादीले एक्लै चुनाव लड्ने निर्णय सार्वजनिक गरेको हो
‘कांग्रेस र जसपाको अपरिपक्व राजनीतिक ब्यवहारले समस्या भएको हो’ स्थानीय माओवादी नेता तुलसीमनि केसी भन्छन्, ‘आज साँझसम्म गठबन्धनका बीचमा सहमति भयो भने गठबन्धनमै रहेर चुनाव लड्छौं । भएन भने भोलि मेयर र उपमेयरसहित २३ वटै वडामा माओवादीको एकल उम्मेदवारी दर्ता हुन्छ ।’ गठबन्धनको राष्ट्रिय आवश्यकतालाई ध्यान दिएर आफूहरुले आइतबार उम्मेदवारी दर्ता नगरेको उनको भनाइ छ ।
नेपालगञ्जको जस्तै स्थिति वीरगञ्ज र विराटनगर महानगरपालिकामा पनि छ । यी दुबै महानगरपालिकामा माओवादीले मेयर र उपमेयरमा भाग पाएको छैन । त्यसैले उसले वडा नेतृत्वमा आफूहरुलाई धेरै दिनुपर्ने माग गरेको छ । अन्य दलहरु तयार नहुँदा समस्या भएको रिपोर्टिङ प्रदेश हुँदै पार्टीको केन्द्रसम्म आइपुगेको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल माओवादीको सातै प्रदेश कमिटी र विभिन्न जिल्ला कमिटीहरुको बैठक चलिरहेको बताउँछन् । ‘कतै सहमति भएको खबर आएको छ, कतै सहमतिको प्रयास छ । तर, अझै गठबन्धन टुंगिन बाँकी रहेकाले धेरै जिल्लामा गठबन्धनकै विषयमा छलफल केन्द्रित भएको छ’ ढकालले भने ।
आजसम्म गठबन्धनमा सहमति खोज्ने र भएन भने सोमबार उम्मेदवार तय गरेर दर्ता गर्ने माओवादीको केन्द्रीय नीति छ । ‘आजै पाँच दलीय गठबन्धनको बैठक छ । गठबन्धनको सम्भावना सकियो भनिएको ठाउँमा केन्द्रले फेरि छलफल गरेर सहमति जुटाउन पनि सक्छ । त्यसपछि माओवादी पूर्ण रुपमा उम्मेदवार चयनमा केन्द्रित हुन्छ’ कार्यालय सचिव ढकालले भने ।
माओवादीले मेयर पाएको भरतपुर महानगरपालिकामै उम्मेदवारको औपचारिक घोषणा हुन बाँकी छ । तर, चितवनको भरतपुरको मेयरमा रेनु दाहालसहित सबै उम्मेदवारहरुको टुंगो लागिसकेको बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले बताए ।
चितवन जिल्लामा पालिका र ९८ वटै वडामा सत्ता गठबन्धनले भागबन्डा गरेका छन् । कांग्रेसले ५८, नेकपा माओवादी केन्द्रले २६ र नेकपा एकीकृत समाजवादी ले १३ वटा वडाध्यक्ष पाउने गरी भागवण्डा गरेका छन् ।