नगरपालिकासँग पवित्राको विद्रोह, मेयरमा स्वतन्त्र उम्मेदवारी
तनहुँको व्यास नगरपालिका वडा नं. ९ की पवित्रा कार्की वैशाखीको सहारा बिना उभिन पनि सक्दिनन् ।
तर पनि उनी व्यास नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन सकिनसकी निर्वाचन अधिकृतको कार्यालय पुगिन् ।
स्वतन्त्र उम्मेद्वारी दिएकी उनी कसैलाई हराउन वा चुनाव जित्न उम्मेदवार बनेकी होइनन् । नगरपालिकाले गरेको विभेदप्रतिको ‘विद्रोह’ गर्दै मेयरमा उम्मेदवारी दिएको उनले बताइन् ।
कार्कीलाई १० वर्ष अघि बाथ रोगले च्यापेको थियो । उनी उपचारको लागि काठमाडौं गइन् । उनलाई चिकित्सकले केही औषधि दिएर घरमै आराम गर्न सुझाव दिए । त्यसपछि उनी घरमै आराम गरेर बस्न थालिन् । केही वर्षपछि दुर्घटनामा परेर उनी घाइते भइन् । त्यसपछि उनले बाथ रोगको औषधी सेवन गर्न छोडिन् ।