न्यूज २४ कर्मी राजेन्द्रको उपचारार्थ सहयोग अभियान सुरु
न्यूज२४ कर्मी राजेन्द्र प्रसाद पन्त ‘तारकिणी’को उपचारमा सहयोगार्थ विश्वव्यापी अभियान सुरु गरिएको छ । हाँडे रोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका तारकिणी पत्रकारिता तथा साहित्य लेखनमा विगत एक दशकदेखि सक्रिय छन् । दुवै कान सुन्न नसक्ने समस्याले ग्रस्त उनको श्रवणशक्ति पुनः प्राप्तिका लागि सगरमाथा साहित्य प्रतिष्ठान, केन्द्रीय कमिटी यएईले “आर्थिक सहयोग संकलन अभियान” सुरु गरेको हो ।
प्रतिष्ठानले तारकिणीको उपचारका लागि हरेक क्षेत्र र तह-तप्काबाट व्यक्तिगत एवं संस्थागत रूपमा आर्थिक सहयोग प्रदान गरेर अभियानलाई सफल बनाइदिन आह्वान समेत गरेको छ ।
स्वेच्छिक रुपमा सीधै सहयोग गर्न चाहनुहुने समाजसेवी, साहित्यप्रेमी एवं शुभचिन्तकहरुका लागि साहित्यकार तारकिणीको तल उल्लेखित बैंक खातामा सोझै रकम जम्मा गर्न सकिने सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले जानकारी गराए । यसका साथै प्रतिष्ठानका विभिन्न देशमा रहेका शाखा सञ्जाल र केन्द्रीय कमिटीमा सम्पर्क गरेर समेत सहयाेग गर्न सकिनेछ ।
सुदूरपश्चिमको बैतडीमा जन्मिएर हाल न्युज २४ नेपालमा कार्यरत कवि तारकिणीको श्रवणशक्ति पूर्ण रूपमा गुमेको छ । हाँडे रोगको संक्रमण बढेपछि १५ वर्षकाे उमेर अचानक श्रवणशक्ति गुमेको कवि-सञ्चारकर्मी तारकिणीले जानकारी गराए । यही वैशाख ३ गते सगरमाथा साहित्य प्रतिष्ठानको स्रष्टा र सृजना कार्यक्रमको १०३ औँ श्रृंखलामा कवि तारकिणीसँग विशेष संवाद गरिएको थियो, जसबाट उनको समस्या बाहिरिएपछि प्रतिष्ठानले सहयोग अभियान चलाएको हो ।पछिल्लो ४ वर्षदेखि न्यूज २४ नेपालकाे डेस्कमा कार्यरत तारकिणीका तीनवटा साहित्यिक कृतिहरू समेत प्रकाशित छन् । उनी विभिन्न साहित्यिक संघ-संस्थाहरुमा समेत आबद्ध छन् । उनको नयाँ कवितासङ्ग्रह प्रकाशनमा आउन लागेको शिखा बुक्सका पुष्पराज पौडेलले जानकारी दिनुभएको छ ।