वीरगञ्ज महानगर : कांग्रेसमा आफ्नै उम्मेदवार उठाउन दबाव
वीरगञ्ज महानगरको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)लाई समर्थन गरेर उपमेयरमा मात्र उम्मेदवारी दिने केन्द्रको निर्णयप्रति नेपाली कांग्रेस, पर्साका नेताहरुले असन्तुष्टि जनाएका छन् ।
केन्द्रीय नेताहरुकै उपस्थितिमा बसेको जिल्ला कमिटीको बैठकले वीरगञ्जको मेयर नछाड्ने निर्णय गरेको थिए । गठबन्धनमा सहमति जुट्न नसकेपछि जिल्लाभर नै तालमेल नगर्ने निर्णय समेत गरेको थियो ।
तर गठबन्धनको शीर्ष तहमा भएको भागबण्डामा वीरगञ्जको मेयर जसपाले पायो भने कांग्रेसले उपमेयर लिने भयो ।
यसमा असन्तुष्ट पर्साका नेताहरुले यसलाई मान्ने कि स्वतन्त्र उम्मेदवार उठाउने भनेर छलफल थालेका छन् । गठबन्धन बाहिर उम्मेदवार उठाउने विषयमा छलफल भइरहेको कांग्रेस महानगर समितिका उपसभापति सन्तोष गुप्ता बताउँछन् । उनका अनुसार जिल्लाका शीर्ष नेताहरु बसेको बैठकमा पनि गठबन्धन नमान्ने मत राखेका थिए । मेयर जसपालाई दिनु अन्यायपूर्ण भएको भन्दै उनीहरुले पार्टीले निर्णयमा पुनर्विचार गर्न माग गरेका छन् ।
कांग्रेसका पूर्व जिल्ला सभापति अजय द्विवेदी पनि तल्लो तहबाट पार्टीको उम्मेदवार उठाउन दबाव आइरहेको बताउँछन् । भन्छन्, ‘आम कार्यकर्ताको दबाव छ । के गर्ने भनेर छलफल भइरहेको छ, तर निर्णयमा पुगिसकेका छैनौं ।’ असन्तुष्टि बढेपछि केन्द्रीय सदस्य रमेश रिजालले शुक्रबार जिल्लाका नेताहरुसँग छलफल गरेका छन् । केन्द्रियकार्य सम्पादन समितिको सदस्य समेत रहेका नेता रिजालले जिल्लाका नेता कार्यकर्ताको भावना बैठकमा राख्ने आश्वासन दिएका छन् ।