एमाले अध्यक्ष ओली हेलिकोप्टरमार्फत् भोलि सर्लाही आउने
नेकपा (एमाले)का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलि सर्लाही आउने भएका छन् । सर्लाहीको मलङ्गवा नगरपालिका–२ मा आयोजना हुने चुनावी प्रचार–प्रसार तथा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नका लागि अध्यक्ष ओली सर्लाही आउन लागेको नेकपा (एमाले) सर्लाहीका अध्यक्ष राज नारायण साहले जानकारी दिए ।
बैशाख ३ गते आयोजना हुन लागेको विशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पार्टी अध्यक्ष ओलीसहत पार्टीका मधेश प्रदेश ईन्चार्ज एवम पूर्व मन्त्री रघुवीर माहाशेठ, केन्द्रीय स्तरका नेताहरु सर्लाही आउने एमाले सर्लाहीले जनाएको छ ।
स्थानीय तहको चुनावमा एमालेले सर्लाहीमा बर्चस्व कायम राख्न र नयाँ राजनीतिक तरङ्ग उत्पन्न गर्न अध्यक्ष ओली सर्लाही आउन लागेका हुन् । एमाले अध्यक्ष ओली हेलिकोप्टरमार्फत् बैशाख ३ गते दिउँसो करिब १ बजे कार्यक्रम स्थालमा आउने छन् ।
उनले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने करिब ५ हजार जनालाई पार्टीमा स्वागत गर्ने एमाले सर्लाहीका उपाध्यक्ष एवम प्रचार–प्रसार विभाग संयोजक विदुर प्याकुरेलले जानकारी दिए । बिहीबार हरिवनमा पत्रकार सम्मेलनको आयोजना गरी पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली सर्लाही आउने विषयमा जानकारी गराइएको हो ।
सर्लाहीका अधिकांश स्थानीय तहमा जीत हाँसिल गर्ने उद्देश्यका साथ अध्यक्ष ओली सर्लाही आउन लागेका एमाले नेता केदार मैनालीले जानकारी दिए ।