अर्थमन्त्रीको बचाउमा परिसंघ, अर्थतन्त्र सुधारोन्मुख रहेको दावी
अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर नेपालको अर्थतन्त्र श्रीलंका जस्तो संकटको अवस्थामा नरहेको जानकारी गराएको ३६ घण्टा नबित्दै मंगलबार पत्रकार सम्मेलन गरेर नेपाल उद्योग परिसंघले अर्थतन्त्र बारेको आफ्नो सोही धारणा दोहोर्यायो ।
आइतबार साँझ अर्थमन्त्रीलाई सुटुक्क भेटेर आफ्नो माग र अर्थतन्त्रको अवस्थाबारे प्रस्तुतीकरण गरेको परिसंघले अर्थ मन्त्रालयबाटै आफ्नो प्रस्तुतीकरण चुहिएपछि मंगलबार पत्रकार सम्मेलन गरेको थियो ।
राजधानीको एक होटलमा अयोजित पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले मुलुकको अर्थतन्त्र बाहिर हल्ला गरिएजस्तो संकटपूर्ण अवस्थामा नरहेको बताए ।
गभर्नर निलम्बनको भोलिपल्ट पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको सार्वजनिक अभिव्यक्ति र एमालेका तीन पूर्व अर्थमन्त्रीले गरेको पत्रकार सम्मेलन लक्षित अभिव्यक्तिलाई अर्थमन्त्री शर्माले दिएको जवाफकै शैलीमा परिसंघ मंगलबार प्रस्तुत भयो । परिसंघले पत्रकारहरुलाई वितरण गरेको प्रेस नोटमा ‘हामी किन संकटमा छैनौं’ भन्ने शीर्षकमा नेपाल र श्रीलंकाबारे तुलना भनेर ४ बुँदामा प्रष्ट्याइएको छ ।
जसमा नेपाल र श्रीलंकाको कूल ग्राहस्थ्य उत्पादनको आकार दोब्बरले अन्तर रहेको, कूल ग्राहस्थ उत्पादनको तुलनामा नेपालको कूल राष्ट्रिय ऋण ४०.५ प्रतिशत र श्रीलंकाको १११ प्रतिशत रहेको बताइएको छ ।
यस्तै कूल सञ्चिती ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने रहेको तर श्रीलंकाको एक महिनाको पनि वस्तु तथा आयात धान्न सक्ने अवस्थामा नरहेको र मुद्रास्फिति नेपालको ७ प्रतिशत रहेको जबकी श्रीलंकामा २५ प्रतिशत रहेको बताइएको छ ।