व्यापार घाटा १३ खर्ब माथि, उच्च आयातमा भने ‘ब्रेक’ लाग्दै
चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिना (साउन–चैत)सम्म आइपुग्दा व्यापार घाटाको आंकडा १३ खर्ब भन्दा माथि पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्तसम्म आयातमा विदेशिएको रकम र निर्यातबाट प्राप्त भएको रकमका बीचको अन्तर १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कुल वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ । सोही अवधिमा निर्यात भने मात्र १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको भएको छ । जसले गर्दा व्यापार घाटा १३ खर्ब भन्दा माथि देखिएको हो ।
नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.१३ प्रतिशत र निर्यातको हिस्सा ९.८७ प्रतिशत रहेको छ । ९ औं महिनासम्म आइपुग्दा निर्यातमा देखिएको उच्च वृद्धिका कारण निर्यातको हिस्सा समेत बढ्दै गएको पाइएको छ ।
गत वर्ष समिक्षा अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । माघ महिनासम्म ४२.७८ प्रतिशतले बढेको आयातको दर फागुनमा आइपुग्दा ३८.६४ प्रतिशतमा झरेको थियो । चैतमा यस्तो दर ३१.९७ प्रतिशतमा झर्दै उच्च आयातमा ब्रेक लागेको संकेत देखिएको हो । चैत महिनामा मात्र आयात १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको भएको छ ।
निर्यातको रेकर्ड
नियार्तमा भने गत महिना नयाँ रेकर्ड बनेसँगै चालु आर्थिक वर्षको बाँकी अवधिमा अहिलेसम्मकै उच्च आंकडा हुनेछ । ८ औं महिनामै इतिहासमै बढी निर्यात व्यापार भएको थियो । चैतमा आइपुग्दा निर्यात १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको भएको छ ।
तथ्यांक अनुसार चैत महिनामा मात्र १३ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यस अवधिमा कुल वैदेशिक व्यापारको आकार भने १६ खर्ब २७ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।