एमाले अध्यक्ष ओलीलाई ‘मेधावी योगदान पदक’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान गरिएको छ।
विश्व स्काउट संगठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ ओलीलाई प्रदान गरिएको हो।
नेपाल स्काउटले बिहीबार काठमाडौंमा गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई उक्त पदक प्रदान गरेकी हुन्।
नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ। प्रधानमन्त्रीकै रुपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रम सुरु गरेका थिए।
ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा विस्तार भएको छ भने बजेटमै प्रबन्ध भई देशका सबै विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने कार्य थालनी भएको छ।
ओलीले प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै पदक प्रदान गरिएको बताइएको छ।