नेपालले टी-२० श्रृंखला, जित्यो दीपेन्द्रको अलराउण्ड प्रदर्शन
दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि जितेको छ । ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको अविजित ५४ रन मदद्तमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले नै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएपछि पीएनजी १६.१ ओभरमा ११७ रनमा अलआउट भयो ।
पीएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । बाउले ३८ बल खेल्दै १ चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाए ।
तेस्रो ओभरमै करण केसीले लेगा सिएकालाई व्यक्तिगत ८ रनमा आउट गर्दै नेपाललाई सफलता दिलाएका थिए । त्यसपछि पाँचौ ओभरमा दीपेन्द्रले लगातार दुई बलमा दुई विकेट लिँदै पीएनजीलाई दबावमा राख्यो । कप्तान असद भाला ८ र टोली उरा शुन्यमा आउट हुँदा पीएनजी २५-३ को अवस्थामा पुग्यो ।