नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुन्छ : सदस्य सचिव घिसिङ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने बताएका छन् ।
सदस्य सचिव घिसिङकै अध्यक्षतामा सातै प्रदेशका सदस्य सचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा भएको नवौं राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा सदस्य सचिव घिसिङले प्रतियोगिता निर्धारित समयमा हुने दाबी गरेका हुन् । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुँदैछ ।
‘नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ । हुन्छ कि हुँदैन भन्ने संशय नराख्नु होला । आ–आफ्नो स्तरबाट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तयारी अगाडि बढाउन आग्रह गर्छु’ सदस्य सचिव घिसिङले भने, ‘प्रतियोगिता र पूर्वाधारको व्यवस्थापन गर्न समन्वय गर्नु आवश्यक थियो । त्यसैले पहिलो पटक बैठक बोलाइएको हो ।’
आफू सदस्य सचिव नियुक्त भएको चार महिनासम्म मुद्दाका कारण काम गर्न नपाएको भन्दै उनले राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक पनि छिट्टै बोलाउने बताए ।