एमालेसँग गरेको तालमेलप्रति वीरगञ्जमा लोसपाभित्र असन्तुष्टि
वीरगञ्ज महानगरपालिकामा पार्टीले नेकपा एमालेसँग तालमेल गरेकामा लोकतान्त्रिक समाजवादी पार्टीका केही नेताहरुले असन्तुष्टि जनाएका छन् ।
लोसपाका जिल्ला उपाध्यक्षहरु कृष्ण पटेल, राजेश साह र देवानन्द यादव तथा महानगरपालिका समितिका अध्यक्ष ओमप्रकाश सर्राफले एमालेसँगको गठबन्धन नमान्ने बताएका छन् ।
तालमेलको विपक्षमा रहेका नेताहरुले एउटा व्यक्तिको स्वार्थपूर्तिका लागि पार्टीले नै आत्मसमर्पण गरेको टिप्पणी गरेका छन् ।
वीरगञ्जमा एमाले भन्दा लोसपा बलियो रहेको भन्दै उनीहरुले एमालेलाई मेयर पद छाड्नु गलत भएको बताए । जिल्ला कार्यसमितिको बैठक नबसी र महानगरपालिका समितिसँग छलफल नै नगरी जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झाले समझदारी गरेको असन्तुष्ट पक्षको भनाइ छ ।