निर्यात ८८ प्रतिशतले बढ्दा पनि व्यापार घाटा २८ प्रतिशतले बढ्यो
चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।
विभागको तथ्याङ्कअनुसार नौ महिनामा रु एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट रु ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो ।
चालू आवको नौ महिनामा निर्यातसँगै आयातमा समेत वृृद्धि भएको छ । नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै रु १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख बढीको आयात भएको थियो ।नेपालले भारतसँग मात्रै रु सात खर्ब ७३ अर्ब ८० करोड ७० लाख बढीको व्यापार घाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट नौ महिनामा रु दुई खर्ब ११ अर्ब पाँच करोड ८० लाख बराबरको आयात भएको छ भने रु ६२ करोड २८ लाख ६२ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र रु दुई खर्ब १० अर्ब ४२ करोड ५१ लाख बराबरको व्यापार घाटा रहेको छ ।