वडाअध्यक्ष : असीमित जिम्मेवारी, सीमित अधिकार
निर्वाचित भएको केही महिनादेखि काठमाडौं महानगरपालिका–१४ की वडाअध्यक्ष शोभा सापकोटाको मोबाइलमा राति अबेर फोन आउन थाल्यो । मध्यराति उनले फोन उठाइनन् । वडावासी उनको घरबाहिरै आएर गुनासो गरे, ‘रातभर छिमेकीको कुकुर भुकेर सुत्न दिएन । वडा कार्यालयले समाधान गरिदिनुपर्यो ।’ भोलिपल्ट वडाअध्यक्ष सापकोटाले नगर प्रहरी मार्फत हस्तक्षेप गराएर ती छिमेकीलाई कुकुर व्यवस्थापन गर्न लगाइन् ।
अर्को उदाहरण छ स्याङ्जाको । वालिङ बजार नजिकै माझी बस्ती छ । माछा मारेर जीवन निर्वाह गर्ने उनीहरूको जीवनस्तर कमजोर छ । तीन वर्षअघि त्यो समुदायमा एउटा घटना भयो । स्थानीय मदन माझीले बाबुको मृत्युपछि आमाको स्याहारसुसार गर्न भनेर विवाह गर्दा बालविवाह र बलात्कार मुद्दा खेप्नुपर्यो । उनको पक्षमा वकालत गर्ने कोही भएनन् । नगरपालिकाका जनप्रतिनिधहिरूले उनको पक्षमा अदालतमा गएर यथार्थ विवरण बताइदिनुपर्यो । जेलमा रहेका उनलाई छुटाउन त्यहाँका वडाअध्यक्षले सक्दो पहल गरे, तर सफल भएनन् । यो संविधान र ऐनमा नलेखिएको तर विशुद्ध मानवीय रूपमा गरिएको काम थियो ।