करण केसीको ह्याट्रिक विकेट, नेपाल फाइनलमा
पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृङ्खलाको फाइनलमा प्रवेश गरेको छ ।
ब्याटिङमा दीपेन्द्र सिंह ऐरी र बिहीबार नै डेब्यू गरेका खेलाडी आदिल अन्सारी अनि करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएपछि बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हरायो ।
करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए । टी-२० अन्तर्राष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो पहिलो ह्याट्रिक विकेट हो ।
सन् २०१४ मा बंगलादेशमा टी-२० विश्वकपमा पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको नेपालको यो ५०औं टी-२० अन्तर्राष्ट्रिय खेल हो । ऐतिहासिक खेलमा नेपालले शानदार जित हात पार्दै एक खेल अगावै श्रृङ्खलाको फाइनलमा समेत स्थान बनायो ।