नोबेल कलेजका अनसनरत १० विद्यार्थीहरूलाई पढ्ने वातावरण बनाउन निर्देशन
संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत १० विद्यार्थीहरूलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गते भित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरूको समस्या समाधान गरेर उनीहरूलाई पढ्न सक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।
समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीहरूको कोर्स पूरा गरिदिनुपर्ने बताइन् । उनले विद्यार्थीहरू पढ्न छोडेर अनसन बस्ने हदसम्म कलेजले पुर्याएको भन्दै तत्काल समस्या समाधान गरेर विद्यार्थीहरूलाई पढ्ने वातावरण बनाउन निर्देशन दिइन् । सभापति घर्तीले नेपालमा कानुन आफ्नो हातमा लिएर स्वार्थ पूरा गर्ने काम भइरहेको भन्दै यसको अन्त्य गर्नुपर्ने बताइन् । उनले कलेजले कानुनतः विद्यार्थीका माग पूरा गर्न नमाने अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइन् ।