रसुवागढी नाकाबाट चिनियाँ सामानको आयात बढ्ने
रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोभिड–१९ सङ्क्रमणका कारण घटदै आएको आयात वृद्धि गराई नेपाली बजारको माग पूरा गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले गर्नुभएको प्रयास फलदायी भएको छ । नौ कन्टेनरमार्फत भइरहेको आयातलाई वृद्धि गरी यही १५ तारेखबाट दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको उहाँले बताउनुभयो ।
चिनियाँ सामग्रीको आयात परिमाण बढ्ने भएपछि याहाँका व्यापारी र व्यवसायीलगायत सबैमा उत्साह बढेको छ ।
कोरोना सङ्क्रमणपश्चात् सीमाक्षेत्रको मितेरी पुलमा आवतजावत बन्द भए पनि चिनियाँ पक्षले माग पूर्ति गर्न दैनिक तीन वटा ठूला कन्टनरबाट आयात सुरू गरेको थियो ।