काठमाडौंमा लुटेको २२ तोला सुन र नगदसहित दाङबाट युवक पक्राउ परे
काठमाडौंमा लुटेको सुन र एक लाख नगदसहित प्रहरीले एक युवालाई दाङबाट नियन्त्रणमा लिएको छ।
चाबहिलमा सुन व्यापारीको आँखामा खुर्सानीको धुलो हालेर सुन र नगद लुटपाट भएको थियो।
लुटपाटमा संलग्न रहेको आरोपमा घोराही उपमहानगरपालिका ८ घर भई घोराही १५ रतनपुरमा डेरा गरी बस्ने २४ वर्षीय राजेन्द्र सिंहलाई सुन र नगदसहित प्रहरीले पक्राउ गरेको छ। सिंहलाई पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताए। सिंहको साथबाट २२ तोला सुन र एक लाख नगद बरामद गरिएको प्रहरीको भनाइ छ।
डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार काठमाडौं महानगरपालिका ७ स्थित चाबहिलमा एक जना सुन व्यवसायी पसल बन्द गरेर घरतर्फ जाँदै गर्दा सिंहसहित समूहले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेका थिए।