भारतमा एकै दिन ३ लाख ३२ हजार संक्रमित, २२ सयको ज्यान गयो
भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण भयावह रुपमा फैलिएको छ । दिनदिनै संक्रमण पुष्टि हुनेको संख्या उकालो लागिरहेछ भने मृत्यु हुनेको संख्या समेत बढेको छ । कतिपय शहरमा अक्सिजनकै अभाव भएर हस्पिटलमा समेत उपचार नहुने अवस्था देखिएको छ ।
लगातार दोस्रो दिन पनि भारतमा ३ लाखभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ३२ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । अिघल्लो दिन बिहीबार पनि २४ घण्टाभित्र ३ लाख १५ हजारभन्दा संक्रमित थपिएका थिए ।
भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी संक्रमितको ज्यान गएको छ । बिहीबार भारतमा २ हजार २५६ संक्रमितको मृत्यु भएको जनाइएको छ ।
अहिलेसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ६२ लाख ५७ हजार नाघेको छ । यो विश्वमा अमेरिकापछि सबैभन्दा बढी संक्रमित संख्या हो ।
यस्तै, भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या १ लाख ८६ हजार ९२८ पुगेको छ । त्यहाँ पछिल्लो १० दिनयता कोरोना संक्रमणका कारण दैनिक १ हजारभन्दा बढी मानिसको मृत्यु भइरहेको छ ।
उता संयुक्त राज्य अमेरिकामा बिहीबार ६७ हजार संक्रमित थपिँदा ८९६ जनाको ज्यान गएको छ । यस्तै ब्राजिलमा बिहीबार मात्र २ हजार ७० संक्रमितको मृत्यु भएको छ भने ४९ हजार ३४४ जना संक्रमित फेला परेका छन् ।