उत्तराखण्ड हिमनदी विस्फोट : बेपत्ताको सूचीमा ११ जना नेपाली
भारतको उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीहरुमा आएको बाढीमा अझै ११ जना नेपालीहरु बेपत्ता छन् ।
उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको हराइरहेका १७५ जनाको सूचीमा एघार जना नेपाली रहेका छन् । सूचीमा तिनीहरुलाई नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको छ । हराइरहेका नेपालीहरुमध्ये तीन जना तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजना, सात जना ऋषिगंगा जलविद्युत परियोजनामा र एक जना रेणी गाउँमा मजदुरी गर्दै आएका थिए ।
तीमध्ये तपोवन आयोजनामा काम गर्ने सोहन चौधरीको मात्र नेपालको ठेगाना खुलाइएको छ । उनको ठेगाना कैलालीको टकापुर उल्लेख छ । प्रहरीले जारी गरेको सम्पर्कविहीन रहेका ऋषिगंगा परियोजनामा कार्यरत ५५ मजदुरहरुको सूचीमा कतिपयको थर र ठेगाना उल्लेख नगरिएको हुँदा थप नेपालीहरु बेपत्ता भएको हुनसक्ने आंशका गरिएको छ ।
यसअघि बेपत्ता भएका भनिएकाहरुमध्ये चार जना नेपालीको जीवितै उद्धार गरिएको थियो । उनीहरुलाई आइतबार साँझ इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) को उद्धार टोलीले जीवितै उद्धार गरेको थियो । आईटीबीपीका प्रवक्ता विवेक पाण्डेका अनुसार आइतबार साँझ ती चार जना नेपाली गरी जम्मा १२ जनालाई चमोली जिल्लाको तपोवनस्थित जलविद्युत्को सुरुङबाट जीवितै उद्धार गरिएको हो । उनीहरु धौलीगगांमा आएको बाढीले बगाएर ल्याएको हिलो र ढुंगाले निर्माणाधीन सुरुङमा फसेका थिए ।
बिहान दस बजेदेखि थुनिएका उनीहरुलाई साँझ पाँच बजे उद्धार गरिएको थियो । उद्धार गरिएका नेपालीहरुमा चित्रबहादुर, बसन्तबहादुर, सन्तबहादुर र किरणबहादुर भएको खुलेको छ । उद्धार गरिएका सबैको चमोलीस्थित आईटीबीपीको अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता पाण्डेले कान्तिपुरलाई जानकारी दिएका छन् । उद्धार गरिएका बसन्तले आफ्नो स्थायी घर प्यूठान भएको आईटीबीपीद्वारा जारी एक भिडियोमा बताएका छन् । ‘मेरो घर प्यूठानको गौमुखीको रजगरा हो । तपोवनको आयोजनामा काम गर्दैथिएँ ।
अचानक बाढी आयो । बिहान दस बजेदेखि पाँचसम्म सुरुङमै थुनिएँ । साँँझ उद्धार भयो । मेरो स्वास्थ्य ठीक छ,’ उनले भिडियोमा भनेका छन् ।
आइतबार बिहान उत्तराखण्डको जोशी मठ नजिक हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायतका नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रेणी र तपवोवन क्षेत्रमा ठूलो मात्रामा जीउधनको क्षति पुऱ्याएको छ ।
हिम नदीको फुटेको क्षेत्र नजिकका दुई गाउँ पनि बगाएको छ । त्यसैगरी बाढीले जोशीमठ क्षेत्रमा चारवटा पुल पनि बगाएको बताइएको छ । बाढीका कारण चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताइएको छ । त्यसमा पनि तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजना र एनटिपिसि जलविद्युत् परियोजनामा बढी क्षति पुऱ्याएको थियो ।
अझै पनि तपोवनस्थित एनटीपीसीको जलविद्युत परियोजनाको सुरुङमा कम्तीमा ३५ मजदुरहरु फसेको आशंका गरिएको छ । उनीहरुको उद्धार प्रयास जारी रहेको छ ।
पश्चिम नेपालबाट बर्सेनि हजारौंको संख्यामा नेपालीहरु उत्तराखण्डको जलविद्युत् र सडक परियोजना काम गर्न जाने गरेका छन् । त्यही भएर आइतबारको बाढीमा हराएकाहरुमध्ये थप नेपालीहरु पनि हुनसक्ने आशंका गरिएको छ ।