म्याक्सवेलको तत्काल क्रिकेट नखेल्ने घोषणा
अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले क्रिकेटबाट केही समयका लागि विश्राम लिने निर्णय गरेका छन्। उनले मानसिक स्वास्थ्य समस्याको कारण देखाउँदै तत्काल क्रिकेट नखेल्ने निर्णय गरेका छन्।
म्याक्सवेलले श्रीलंकाविरुद्ध जारी तीन खेलको टी–२० सिरिजको पहिलो खेलमा २८ बलमा ६२ रन बनाएका थिए। उनको इनिङको सहयोगमा अस्ट्रेलियाले १३४ रनको प्रभावसाली जित निकालेको थियो। म्याक्सवेलको स्थानमा अब अन्तिम टी–२० मा अस्ट्रेलियाले डी आर्सी शर्टलाई टिममा सामेल गर्ने छ। क्रिकेट डटकम डट एयुले क्रिकेट अस्ट्रेलियाका साइकोलोजिस्ट डा. माइकल लायडसँग कुरा गर्दे लेखेको छ ‘म्याक्सवेल मानसिक स्वास्थ्य सँग सम्बन्धित समस्याका कारण केही कठिनाइ भोगिरहेका छन्।
त्यसैले उनी केही समय क्रिकेटबाट टाढा बस्ने छन्।’ क्रिकेट अस्ट्रेलियाका कार्यकारी महाप्रबन्धक बेन ओलिवरले भने, ‘म्याक्सवेललाई बोर्डले पूरा सहयोग गर्ने छ। हाम्रा लागि खेलाडी र कर्मचारीको सुरक्षा र भलाई नै सर्वोपरी हो। त्यसैले हाम्रो समर्थन सधैं खेलाडीको लागिनै हुने छ।’ म्याक्सवेलले ७ टेस्टमा ३३९ रन बनाएका छन्। त्यस्तै, ११० एकदिवसीय खेलमा २८७७ र ६१ टी–२० मा १५७६ रन बनाएका छन्। टेस्ट र एकदिवसीयमा उनको नाममा समान एक शतक रहेको छ।
टी–२० मा भने म्याक्सवेलले तीनपटक शतकीय इनिङ खेलेका छन्। बोर्डले भन्यो ‘बोर्ड म्याक्सवेलको घरेलु टोली भिक्टोरियाको साथमा काम गर्ने छ, जसले गर्दा म्याक्सवेल आफ्नो स्वास्थ्य सुधार भएपछि इच्छा अनुसार टिममा फर्कन सहयोग मिल्ने छ । उनी एक विशेष खेलाडी र अस्ट्रेलिया क्रिकेट परिवारको महत्त्वपूर्ण हिस्सा रहेका छन्। हामीलाई आशा छ केही समयपछिनै उनी पुनः टिममा देखिने छन्।’ म्याक्सवेलअघि युवा क्रिकेटर विल पुकोस्कीले मानसिक समस्याको कारण देखाउँदै क्रिकेटबाट टाढा हुने निर्णय गरेका थिए। उनले श्रीलंकाविरुद्ध पछिल्लो साल टेस्ट सिरिजका दौरान यो निर्णय गरेका थिए।
२१ वर्षीय विल अबले टिममा पुनरागमनको तयारीमा रहेका छन्। उनले पाकिस्तानविरुद्धको अभ्यास खेलका दौरान अस्ट्रेलिया ए को तर्फबाट प्रतिष्पर्धा गर्ने छन्। उनले यसै महिना घरेलु टोली भिक्टोरियाका लागि खेल्दै शतकीय इनिङ खेलेका थिए।