सोलुखुम्बुको माप्य जाने सडक कालोपत्रे गरिँदै
सोलुखुम्बु :सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको मुख्य सडक कालोपत्रे गरिने भएको छ । सदरमुकामसमेत रहेको सोलुदुधकुण्ड नगरपालिकाबाट माप्य दुधकोशीतर्फ जाने सडकको सेर्गाखोपदेखि मुलखर्कडाँडा, सरिमा हुँदै जुभीङ–ओर्लाङघाटसम्मको खुम्बु जोड्ने सडक तीन वटा ब्लगसहित कालोपत्रेका लागि स्तरोन्नति गर्न थालिएको हो ।
त्यसका लागि सडकको चौडाइ बढाएर ८ मिटर बनाउने, नाली बनाउने र सम्याउने काम सुरु गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए । पहिलो ब्लगअन्तर्गत सेर्गाखोपदेखि मुलखर्कसम्मको सडक मध्य करिब डेढ किलोमिटर सडकको चौडाइ बढाउने काम सकिएको पुर्वाधार विकास कार्यलय ओखलढुंगाका सव–इन्जिनियर भरुमान राईले बताए । आर.के./डेन्दुक जेभीले एक करोड २५ लाख रुपैयाँमा सडक स्तरोन्नतिका लागि ठेक्का लिएको हो ।
हिउँद, वर्षा बाह्रै महिना सडक संचालन हुन थालेपछि सडकलाई स्तरोन्नति गर्दै लैजाने क्रममा कालोपत्रेको योजना बनाइएको गाउँपालिकाले जनाएको छ । ‘प्रदेश सरकारको एक करोड पचास लाख रुपैयाँ बजेट उक्त योजनाका लागि प्राप्त भएको छ,’ अध्यक्ष राईले भने, ‘८ मिटर चौडाई बनाइसकेपछि सडकको कालोपत्रे अघि बढाइने छ । हामीलाई बजेटको समस्या छैन । त्यसैले अबको डेढ बर्षभित्र कालोपत्रे सक्ने हाम्रो लक्ष्य छ ।’
कागते नजिकै दियालेदेखि बंगुर फर्मसम्म बीचको भागमा करिब ११ सय मिटर कालोपत्रेका लागि अर्काे कम्पनीले काम गरिरहेको छ । बिआर कन्स्ट्रक्सन सप्पायर्सका प्रोप्राइटर भक्त राईका अनुसार अहिले धमाधम ब्याक कटिङको काम भइरहेको छ । राईले आगामी ६ महिनाभित्र कालोपत्रेको काम सकिने बताए । सो सडक खण्ड अलि जोखीमपूर्ण रहेकाले तत्कालै कालोपत्रे गरी सुविधा सम्पन्न बनाउने तयारीमा एक करोड ५० लाख बजेटसहित योजना चलिरहेको छ । ५० लाख रुपैयाँको अर्काे बजेटले सरिमाको टर्निङहरुको स्तरोन्नति गर्ने काम भइरहेको छ ।
सल्लेरी–काँकु–बासा हुँदै जुभिङ जोड्ने उक्त सडकलाई कालोपत्रेको लागि संघीय सरकारबाट १० करोड विनियोजन भएको छ । करिब ४३ किलोमिटर दूरी रहेको यस सडकखण्ड कालोपत्रे भएपछि खुम्बु जाने पर्यटकका लागि ठूलो राहत मिल्नेछ । खुम्बु जाने पर्यटकबाट माप्यदुधकोशी गाउँपालिकाले समेत आर्थिक फाइदा लिन सक्नेभएकाले प्रमुख योजनामा राखिएको अध्यक्ष राईले बताए । आगामी दुई वर्षभित्र ४३ किलोमिटर पुरै सडक कालोपत्रे गरिसक्ने गाउँपालिकाले जनाएको छ ।
रासस