अध्यक्ष पक्राउको विरोधमा अत्तरिया बजार बन्द
धनगढी, १८ असार धनगढी अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक देवकोटासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको विरोधमा व्यापारीहरुले अत्तरिया बजार बन्द गराएका छन् ।
बुधवार बिहान अत्तरियामा रहेको उद्योग वाणिज्य सङ्घको सभाकक्षमा पत्रकार सम्मेलन भइरहेका बेला इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले अध्यक्ष देवकोटा, कार्यसमिति सदस्य विपिन साउदसहित तीनजनालाई पक्राउ गरेको थियो ।
अत्तरियाका व्यापारीले व्यवसायीहरूका साझा समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा बोल्दा मुद्दा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै स्वइच्छिक रूपमा पसलहरू बन्द गरेका अत्तरिया उद्योग वाणिज्य सङ्घका महासचिव यज्ञराज जोशीले जानकारी दिए ।
गोदावरी नगरपालिकाले असार १० आयोजना गरेको नगर परिषद्को उद्घाटन समारोहमा कार्यक्रम बिथोल्ने र अतिथिमाथि दुर्व्यवहार गरेको भन्दै कार्यपालिका बैठकले निर्णय नै गरेर असार ११ गते इलाका प्रहरी कार्यालय मालाखेतीमा अध्यक्ष देवकोटासहितका ८ जना विरुद्ध किटानी दिएको थियो ।
नगर परिषद्को उद्घाटन समारोहमा माइक तोडफोड गरेको, माइकको तार काटेको र कार्यक्रम बिथोल्ने प्रयास गरेको भन्दै किटानी दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी दक्ष कुमार बस्नेतले बताए । पक्राउ गरिएका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।
गोदावरी न्युजबाट