भोजपुरमा शंकास्पद वस्तु फेला
काठमाडौं : भोजपुर सदरमुकाम नजिकै देउराली सौदाचोकमा शंकास्पद वस्तु फेला परेको छ । बुधबार विहान ११ बजेतिर सौदाचोकदेखि बोखिम जाने सिँढीमा राता झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
सो बाटो भएर हिँड्ने बटुवाहरुले शंकास्पद वस्तुदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त शंकास्पद वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाले डिस्पोजको तयारी गरिरहेको छ । शंकास्पद वस्तु राखिएको वरपरका स्थानीयवासी त्रसित बनेका थिए । त्यस्तै मंगलबार राति अज्ञात समूहले भोजपुर जिल्लाको पश्चिमी टेम्केमैयुङ गाउपालिका १ तिम्मास्थित वडा कार्यालयमा तोडफोड तथा आगजनी गरेको छ ।
वडा कार्यालयको ताल्चा फुटाएर सो समूहले कार्यालयमा रहेको महत्वपूर्ण कागजात लगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको हो ।
अज्ञात समूहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्यूटर, टेबुल, कुर्सी, प्रिन्टर, ईन्टरनेटका सामाग्री, महत्वपूर्ण कागजातहरु जलाएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।
सोही वडाको परिसरभित्रै बम जस्तो देखिने शंकास्पद समेत फेला परेको थियो । शंकास्पद वस्तु बम भएको र प्रहरीले बम भने निष्क्रिय गरिएको जनाएको छ ।
अज्ञात समूहले कार्यालयमा रहेको १ थान ल्यापटप पनि साथमा लिएर गएको प्रहरीले जनाएको छ ।