सडक डिभिजन दाङद्वारा सीमा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम
दाङ — सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रको सीमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ। सार्वजनिक सडक ऐन २०३१ विपरीत बनेका घरटहरा, पर्खाल तथा अन्य संरचना हटाउन सम्बन्धित व्यक्तिहरूलाई निर्देशन दिइएको हो।
डिभिजन कार्यालयका अनुसार सडक सीमा अतिक्रमणका कारण सवारी आवागमन प्रभावित हुनुका साथै सडक सुरक्षामा समेत गम्भीर जोखिम बढेको छ। त्यसैले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सबै अवैध संरचना हटाउन अनुरोध गरिएको छ।
सूचनामा उल्लेख भएअनुसार तोकिएको समयसीमा भित्र संरचना नहटाइए कानुनी कारबाही अघि बढाइने र हटाउने क्रममा लाग्ने खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने चेतावनी दिइएको छ।
कार्यालयले अतिक्रमण भएको उल्लेख गरेका प्रमुख सडक खण्डहरूमा पूर्व–पश्चिम राजमार्गको धानखोला–शिवखोला खण्ड, सहिदमार्गको कोइलाबास–लमही–घोराही खण्ड, राप्ती राजमार्गको अमेलिया–तुलसीपुर–सितलपाटी खौलापास खण्ड, हुलाकी राजमार्गको गढवा–राजपुर खण्ड, मदन भण्डारी राजमार्गको शीतलपाटी–खलङ्गा–बालुवा सङ्ग्रही खण्ड, मुर्कुटी–घोराही–तुलसीपुर–काल्चे खण्ड, भालुबाङ–गनाहा खण्ड तथा रारा राजमार्गको थारमारे–चौरजहारी खण्ड रहेका छन्।
सडक डिभिजनले अतिक्रमण नियन्त्रण नगरे भविष्यमा यातायात र सडक पूर्वाधार व्यवस्थापन अझ जटिल बन्न सक्ने भन्दै समयमै संरचना हटाउन आग्रह गरेको छ।