दक्षिण कोरियाको शानदार पुनरागमन जित, चेक गणतन्त्रमाथि २–१ ले विजय
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को पुनरागमन जित हात पारेको छ। मेक्सिकोको ग्वाडालाजारास्थित एक्रोन रङ्गशालामा शुक्रबार सम्पन्न खेलमा एक गोलले पछि परेको अवस्थाबाट फर्किँदै कोरियाले महत्त्वपूर्ण ३ अंक जोडेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक बनेको थियो। करिब ४४ हजार ९ सय ८५ दर्शक उपस्थित खेलमा दुवै टोलीले आक्रामक शैलीमा खेल प्रस्तुत गरेका थिए।
दोस्रो हाफ सुरु भएको केही समयमै चेक गणतन्त्रले अग्रता लिएको थियो। लाडिसलाभ क्रेइचीले उत्कृष्ट हेडिङमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
तर, उक्त अग्रता लामो समय टिक्न सकेन। दक्षिण कोरियाका स्टार खेलाडी ह्वाङ ही–चानले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि खेल अझै रोमाञ्चक बनेको थियो।
खेलको अन्त्यतिर ओ ह्युन–ग्युले स्लाइड गर्दै शानदार गोल गरेपछि दक्षिण कोरिया २–१ ले अगाडि बढ्यो। यही गोल नै निर्णायक सावित भयो।
बाँकी समयमा चेक गणतन्त्रले बराबरी गोलका लागि प्रयास गरे पनि कोरियाली डिफेन्स मजबुत देखियो।
यस जितसँगै दक्षिण कोरियाले समूह ‘ए’ मा सुखद सुरुआत गरेको छ।