भुटानसामु नेपालको ११४ रनको लक्ष्य, सीता रानामगरको उत्कृष्ट ब्याटिङ
एसीसी महिला प्रिमियर कप क्रिकेटअन्तर्गत भुटानविरुद्ध नेपालले १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियास्थित टुङ्कु जाफर क्रिकेट ओभलमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय १३ रनमा समेटिएको हो।
नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ रन बनाइन्। यस्तै, रुविना क्षेत्रीले २४ रन जोड्दा सोनी पाख्रिनले १३ तथा सम्झना कुमारीले १० रनको योगदान दिइन्।
भुटानका लागि सोनाम र छिरिङ जाङ्मोले समान ३–३ विकेट लिएर नेपाललाई ठूलो स्कोर बनाउनबाट रोके।
प्रतियोगिताको पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गरेको नेपाल आज भुटानविरुद्ध लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको हो। नेपालले समूह चरणको आफ्नो तेस्रो खेल शनिबार हङकङ महिला क्रिकेट टोलीसँग खेल्ने तालिका छ।