एसिसी महिला प्रिमियर कपमा नेपाललाई विजयी सुरुवात, कतारमाथि ८ विकेटको जित
काठमाडौं — मलेसियामा आजदेखि सुरु भएको एसिसी महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको कतारले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७६ रन बनाएको थियो। कतारका लागि गेन्टेडु चन्डिरुले सर्वाधिक २५ रन बनाइन् भने कप्तान आयशाले १० रन जोडिन्। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि बलिङतर्फ रुविना क्षेत्रीले ३ विकेट लिँदा पूजा महतो, रिया शर्मा र कविता कुँवरले १–१ विकेट लिए।
७७ रनको लक्ष्य पछ्याएको नेपालले १० ओभर ५ बलमा २ विकेट गुमाउँदै ७८ रन बनाएर सहज जित हासिल गर्यो। नेपालका लागि विन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् भने पूजा महतो २८ रनमा अविजित रहिन्।
यस जितसँगै नेपालले प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ। नेपालले अब भुटान र हङकङसँग समूह चरणका बाँकी खेल खेल्नेछ।