आज रातिबाट सुरु हुँदै फिफा विश्वकप–२०२६, पहिलोपटक ४८ टोलीको सहभागिता
फुटबलको महाकुम्भ फिफा विश्वकप–२०२६ आज रातिबाट सुरु हुँदैछ। फुटबल इतिहासमै पहिलोपटक तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको उद्घाटन नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ।
प्रतियोगिताको उद्घाटन समारोह तीनवटै आयोजक राष्ट्रमा विशेष कार्यक्रमसहित आयोजना गरिनेछ। मेक्सिको सिटी, क्यानडाको टोरन्टो र अमेरिकाको लस एन्जलसमा छुट्टाछुट्टै उद्घाटन समारोह हुनेछन्। विश्वकपको पहिलो खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ। उक्त खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।
यस संस्करणमा पहिलोपटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। यसअघि विश्वकपमा ३२ टोली मात्र सहभागी हुने व्यवस्था थियो। प्रतियोगिता १६ सहरका १६ रंगशालामा सञ्चालन हुनेछ भने कुल १०४ खेल खेलाइनेछन्। फाइनल खेल जुलाई १९ मा न्युयोर्कमा हुनेछ।
पाँचपटकको विश्व विजेता ब्राजिल लगातार २३औँपटक विश्वकपमा सहभागी हुँदैछ। ब्राजिलसँगै साबिक विजेता अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन र नेदरल्यान्ड्सलाई उपाधिका प्रमुख दाबेदारका रूपमा हेरिएको छ।
उज्वेकिस्तान, केप भर्डे, कुराकाओ र जोर्डनले भने पहिलोपटक विश्वकप खेल्दै छन्। यिनीसँगै कतार, हाइटी, न्युजिल्यान्ड, इजिप्ट, इराक र क्यानडा विश्वकप इतिहासको पहिलो जितको खोजीमा रहनेछन्।
यसपटकको विश्वकपमा चारपटकको विश्व च्याम्पियन इटाली, पोल्यान्ड, डेनमार्क, नाइजेरिया र क्यामरुनजस्ता चर्चित टोली भने छनोट हुन असफल भएका छन्।
विश्व फुटबलका चर्चित खेलाडीहरू नेयमार, क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, केलियन एम्बाप्पे र लामिन यमाललगायतका स्टार खेलाडीहरूको उपस्थितिले प्रतियोगिता थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।