बैंकिङ कसुरका १४ मुद्दामा फरार रहेका व्यक्ति पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी १४ वटा मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
सीआईबीले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ निवासी ४७ वर्षीय राजु मिजार पक्राउ परेका हुन्। उनी बैंकिङ कसुरसम्बन्धी १२ वटा र चेक अनादरसम्बन्धी २ वटा गरी कुल १४ मुद्दामा दोषी ठहर भएका फरार अभियुक्त रहेको ब्यूरोले जनाएको छ।
सीआईबीका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विभिन्न मितिमा काठमाडौं जिल्ला अदालतबाट भएका फैसलाअनुसार मिजारविरुद्ध २ करोड ५८ लाख ६२ हजार रुपैयाँ बिगो कायम भएको थियो।
अदालतले उनलाई बिगोबमोजिम ४३ लाख २३ हजार रुपैयाँ जरिवाना, १ लाख ७२ हजार ९४१ रुपैयाँ क्षतिपूर्ति तथा ९० दिन कैद सजायसमेत तोकेको थियो।
फैसला कार्यान्वयनबाट फरार रहेका मिजारलाई खोजतलासका क्रममा खटिएको सीआईबीको टोलीले जेठ २५ गते काठमाडौं महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरेको हो।
पक्राउ परेका मिजारलाई फैसला कार्यान्वयनका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।