फिफा विश्वकप : पहिलो राउण्ड सम्पन्न, १५ टोलीको जित
काठमाडौं — फिफा विश्वकप फुटबलको समूह चरणको पहिलो राउण्डका खेलहरू सम्पन्न भएका छन्। प्रारम्भिक चरणमा १५ टोलीले जित दर्ता गर्दै ३ अंक जोड्न सफल भएका छन् भने १५ टोली पराजित भएका छन्। बाँकी १८ टोलीले बराबरी खेल्दै १–१ अंक बाँडेका छन्।
समूहगत नतिजाअनुसार मेक्सिको, दक्षिण कोरिया, अमेरिका, अस्ट्रेलिया, जर्मनी, आइभोरी कोष्ट, नर्वे, फ्रान्स, अर्जेन्टिना, अस्ट्रिया, इंग्ल्याण्ड र घानासहितका टोलीले विजयी सुरुवात गरेका छन्।
त्यस्तै, केही समूहका खेलहरू पूर्ण रूपमा बराबरीमा सकिएका छन् भने अन्य समूहमा सन्तुलित प्रतिस्पर्धा देखिएको छ।
पहिलो राउण्ड सकिँदासम्म अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। उनले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडी बनेका छन्।
फ्रान्सका किलियन एमबाप्पे, इंग्ल्याण्डका ह्यारी केन र नर्वेका अर्लिङ हालान्डले पनि उत्कृष्ट प्रदर्शन गर्दै २–२ गोल गरेका छन्। प्रतियोगितामा अब समूह चरणका दोस्रो राउण्डका खेलहरू हुनेछन्।