विश्वकप २०२६ का लागि फिफाको नयाँ नियम: खेलको गति बढाउन कडा परिवर्तन
ज्युरिख/लन्डन — सन् २०२६ को विश्वकपलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय फुटबलमा खेलको गति बढाउने र समय खेर फाल्ने अभ्यास नियन्त्रण गर्ने उद्देश्यले नयाँ नियमहरू ल्याइएको छ।
फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिना ले गोलकिपर घाइते भएको बहानामा खेलाडीहरू कोचसँग सल्लाह लिन ‘प्राविधिक क्षेत्र’ मा जाने अभ्यास अब रोकिने बताएका छन्। उनका अनुसार यस्तो अभ्यासले खेलको लय बिगार्ने र अनावश्यक समय खेर जाने भएकाले नयाँ नियम आवश्यक भएको हो।
अन्तर्राष्ट्रिय फुटबल नियम निर्माता निकाय अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (IFAB) ले भिएआर (VAR) प्रोटोकलमा पनि परिवर्तन गरेको छ। अब कर्नर वा फ्रि-किक अघि हुने फाउलहरूलाई समेत भिडियो रिभ्यु गरेर जाँच गर्न सकिनेछ, जसले गलत निर्णयबाट हुने गोल रोक्ने अपेक्षा गरिएको छ।
नयाँ नियमअनुसार गोलकिपर घाइते हुँदा खेलाडीहरू कोचसँग सल्लाह लिन मैदान बाहिर जान पाउने छैनन्। दुवै टोलीका खेलाडीहरू मैदानमै—विशेषगरी सेन्टर सर्कलमा वा जहाँ छन् त्यहीँ—रहनुपर्नेछ। कोलिनाका अनुसार, “खेलाडीहरूलाई खेल रोकेर रणनीतिक टाइमआउट लिने अधिकार हुँदैन।”
त्यसैगरी खेलको गति कायम राख्न विभिन्न ‘काउन्टडाउन’ नियमहरू लागू हुनेछन्। थ्रो-इन ढिलो गरेमा बल विपक्षी टोलीलाई दिइनेछ, गोल-किकमा ढिलाइ भए विपक्षीलाई कर्नर दिइनेछ, र सब्सिच्युसन १० सेकेन्डभित्र पूरा गर्नुपर्नेछ। उपचारका लागि मैदान बाहिर निस्किएका खेलाडी कम्तीमा ६० सेकेन्ड बाहिर बस्नुपर्ने व्यवस्था पनि गरिएको छ।
खेलाडीहरूले विवादका क्रममा मुख छोपेर बोल्दा अपमानजनक वा रंगभेदी टिप्पणीको सम्भावना रोक्न कडा कारबाही हुने भएको छ। तर सामान्य संवादमा भने यस्तो व्यवहारलाई अनुमति दिइनेछ।
फिफा ले नयाँ नियमहरूलाई खेललाई छिटो, पारदर्शी र कम विवादास्पद बनाउने प्रयासका रूपमा व्याख्या गरेको छ।