कुशल भुर्तेलको लगातार दोस्रो टी–२० अन्तर्राष्ट्रिय शतक
काठमाडौं, २१ जेठ २०८३ — कुशल भुर्तेल ले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक प्रहार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्।
एसियन गेम्स छनोटअन्तर्गत मलेसिया विरुद्ध बिहीबार भइरहेको खेलमा भुर्तेलले केवल ४४ बलमा शतक पूरा गरेका हुन्। यो उनको टी–२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक हो।
यसअघि उनले चीन विरुद्धको खेलमा ३५ बलमै शतक प्रहार गर्दै ४३ बलमा १२९ रन बनाएका थिए।
लगातार दुई टी–२० अन्तर्राष्ट्रिय शतक बनाउने भुर्तेल पहिलो नेपाली खेलाडी बनेका छन्। साथै, विश्व क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने उनी १०औँ खेलाडी बनेका छन्।
मलेसियाविरुद्धको खेलमा भुर्तेल ५४ बलमा १२६ रन बनाएर आउट भए। उनले आफ्नो विस्फोटक इनिङ्समा १४ चौका र ८ छक्का प्रहार गरेका थिए।
भुर्तेलले आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय शतक सन् २०२२ मा फिलिपिन्स विरुद्ध प्रहार गरेका थिए।