काठमाडौंमा ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’ जेठ १५ देखि
काठमाडौँ — काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’ आयोजना हुने भएको छ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमबारे जानकारी दिएको हो। आठ दिने यो कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ।
पहिलो चरणमा जेठ १५ देखि २० गतेसम्म लेखकहरूको कार्यशाला सञ्चालन गरिनेछ भने दोस्रो चरणमा जेठ २१ र २२ गते साहित्य महोत्सव आयोजना हुनेछ।
कार्यशालामा विश्व प्रसिद्ध कवि, लेखक तथा प्रशिक्षकहरूले कविता, संस्मरण, हाइकु र फ्ल्यास फिक्सनलगायत विधामा प्रशिक्षण दिने जनाइएको छ। लेखनमा सक्रिय तर सिर्जनात्मक अवरोध सामना गरिरहेका स्रष्टाहरूलाई सहयोग गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको आयोजकको भनाइ छ।
आयोजकका अनुसार कार्यक्रम केवल होटलमा सीमित नराखी काठमाडौंका मन्दिर, गुम्बा तथा ऐतिहासिक सम्पदा स्थलहरूको भ्रमणसँगै सञ्चालन गरिनेछ। यसमार्फत सहभागीलाई नेपाली समाज, संस्कृति र प्राकृतिक सौन्दर्यसँग प्रत्यक्ष परिचित गराइनेछ।
महोत्सव अन्तर्गत पुस्तक विमोचन, कविता वाचन, सांस्कृतिक कार्यक्रम तथा पहिलो पटक नेपालमा पोएट्री फिल्म फेस्टिभल समेत आयोजना गरिनेछ।
नेपालसहित विभिन्न देशका साहित्यकार, कवि र कलाकारहरूको सहभागिता रहने उक्त कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय साहित्यिक केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ।