नेपालको राष्ट्रिय क्रिकेट टोली घोषणा, लिग-२ त्रिकोणात्मक सिरिज वैशाख २९ देखि सुरु हुने
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र अमेरिका सहभागी हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघले राष्ट्रिय टोली घोषणा गरेको छ। सिरिज वैशाख २९ गतेदेखि सुरु हुनेछ।
घोषित १५ सदस्यीय टोलीमा अधिकांश खेलाडी अघिल्लो ओमान र युएईविरुद्धको सिरिजकै छन्। तर यसपटक बसिर अहमदको स्थानमा ईशान पाण्डेलाई समावेश गरिएको छ।
पाण्डेले यसअघि सन् २०१९ मा जिम्बावेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय खेल्दै राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उनले हालसम्म ४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् भने एकदिवसीय खेलमा डेब्यू गर्न बाँकी छ।
घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका पाण्डेले पछिल्लो नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका लागि प्रभावशाली प्रदर्शन गरेका थिए। उनलाई प्रधानमन्त्री कप र ‘ए’ टोलीमा देखाएको प्रदर्शनका आधारमा टोलीमा पुनः स्थान दिइएको हो।
नेपाल लिग-२ को अंक तालिकामा हाल संघर्षरत अवस्थामा छ। २४ खेलमा १८ अंकसहित नेपाल सातौं स्थानमा रहेको छ। अमेरिका ३६ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्ड ३४ अंकसहित दोस्रो स्थानमा छ।
सिरिजमा तीनै टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन्। नेपालले पहिलो खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ।
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी।