क्यानका केन्द्रीय सदस्यद्वारा एनपीएल पारदर्शिताबारे छानबिन माग
काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्यहरूले संस्थाभित्र अपारदर्शिता र सुशासनको अभाव भएको आरोप लगाउँदै राष्ट्रिय खेलकुद परिषद (राखेप) मा निवेदन दर्ता गरेका छन्।
उपाध्यक्ष रोशन सिंहसहित नौ जना केन्द्रीय सदस्यले राखेपमा दर्ता गरेको निवेदनमार्फत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को वित्तीय तथा प्रशासनिक कागजात र अडिट प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
निवेदनमा राखेपको प्रत्यक्ष निगरानीमा स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने तथा छानबिन प्रक्रिया समयमै सम्पन्न गरी सार्वजनिक प्रतिवेदन जारी गर्न आग्रह गरिएको छ।
निवेदन दर्ता गर्नेमा प्रदीप मजगैयाँ, माधव कर्माचार्य, बिरेन्द्र चन्द, अर्जुन पौडेल, जयन्ती भट्ट, दिवाकर घले, दुर्गा राज पाठक र बिक्रम बिष्ट रहेका छन्। उनीहरूमध्ये घले र बिष्टले मात्र हस्ताक्षर गरेका छन्।
केन्द्रीय सदस्यहरूले क्यानले एनपीएलको आय–व्यय विवरण, अडिट रिपोर्ट, सम्झौता तथा वित्तीय कारोबारसम्बन्धी कागजात उपलब्ध नगराएको आरोप लगाएका छन्। साथै साधारणसभा तथा लेखापरीक्षण प्रतिवेदन पनि समयमै पारित नगरिएको उनीहरूको दाबी छ।
यसअघि पनि सदस्यहरूले पारदर्शिता माग गर्दै बोर्ड बैठक बहिष्कार गरेका थिए भने क्यानले बहुमतका आधारमा एनपीएलसम्बन्धी निर्णय गरेको थियो।
सदस्यहरूले नेपाल क्रिकेट संघलाई कानुनी दायित्वअनुसार सूचना सार्वजनिक गर्न नसकेको र सुशासनमा गम्भीर कमजोरी देखिएको आरोप लगाएका छन्।
यसअघि एनपीएलमा अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भइसकेको छ भने खेलकुद मन्त्रालय र राखेपले पनि विभिन्न छानबिन समिति गठन गरेका थिए। तर ती छानबिनको नतिजा अहिलेसम्म सार्वजनिक नभएको बताइएको छ।