प्रधानमन्त्री कप भलिबल लिग: पुलिसको विजयी सुरुवात, महिलातर्फ न्यू डायमण्ड र एभरेष्टको जित
काठमाडौं — प्रधानमन्त्री कप एनभिए भलिबल लिग अन्तर्गत पुरुषतर्फ नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको खेलमा पुलिसले कोशी प्रदेश भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्यो। पुलिसले २५–२३, २२–२५, २५–२० र २५–२२ को सेटमा जित निकाल्यो।
महिलातर्फ शुक्रबार भएका खेलमा न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लब विजयी भएका छन्। न्यू डायमण्डले सुदूरपश्चिम भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रभावशाली प्रदर्शन गर्यो, जहाँ उसले २५–११, २५–३ र २५–१ को जित निकाल्यो।
यस्तै, एभरेष्ट भलिबल क्लबले एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो। एभरेष्टले २५–२०, १६–२५, २५–१७ र २५–१६ को सेटमा जित सुनिश्चित गर्यो।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताका विजेताले १० लाख, उपविजेताले ५ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने संघले जनाएको छ।