नेपालले रवाण्डालाई ३८ रनले हराउँदै तेस्रो जित दर्ता
आइसिसी वुमन्स टी–२० च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत नेपालले आफ्नो तेस्रो जित दर्ता गरेको छ। मंगलबार किगालीमा भएको खेलमा नेपालले घरेलु टोली रवाण्डालाई ३८ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १०३ रन बनायो। कप्तान इन्दु बर्माले नटआउट ३३ रनको महत्वपूर्ण पारी खेलिन्। कुविता कुँवरले २४ र रुबिना क्षेत्रीले ११ रनको योगदान दिए।
जवाफी ब्याटिङमा रवाण्डा १७.४ ओभरमै ६५ रनमा अलआउट भयो। नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन्। कविता कुँवर, रचना चौधरी र रिया शर्माले २–२ विकेट लिए।
नेपालले प्रतियोगितामा ६ खेलमध्ये ३ जित हात पारेको छ। यसअघि इटाली र रवाण्डाविरुद्ध दुई खेल जितेको नेपाल अमेरिकासँग दुवै खेल र भानुआटुसँग एक खेलमा पराजित भएको थियो।
अंक तालिकामा नेपाल ६ अंकसहित तेस्रो स्थानमा छ। शीर्ष स्थानमा अमेरिका १० अंकसहित छ भने रवाण्डा, इटाली र भानुआटु क्रमशः पछिल्ला स्थानमा छन्।