मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ सम्पन्न, निर्मला र विनोद च्याम्पियन
भोजपुर–खोटाङ — पूर्वी पहाडको चर्चित साहसिक प्रतियोगिता ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ। महिलातर्फ खोटाङकी निर्मला राई र पुरुषतर्फ ओखलढुङ्गाका विनोद थापामगर ले ६० किलोमिटर खुला अल्ट्रा रेसको उपाधि जितेका छन्।
निर्मलाले आठ घण्टा २० मिनेटमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरिन् भने विनोदले छ घण्टा ५० मिनेटमा दौड पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बने। महिलातर्फ रोल्पाकी आश्मा विश्वकर्मा दोस्रो र सोलुखुम्बुकी आङफुर्वा शेर्पा तेस्रो भइन्। पुरुषतर्फ सोलुखुम्बुका अर्जुन कुलुङ दोस्रो तथा मिलन कुलुङ तेस्रो स्थानमा रहे।
भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुरु भएको दौड आमचोक, रामप्रसाद राई गाउँपालिका हुँदै खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङसम्म पुगेको थियो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ८० हजार, ६० हजार र ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
४५ किलोमिटर खुला पुरुषतर्फ काठमाडौँका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बू दोस्रो र भोजपुरका उमेश राई तेस्रो भए। महिलातर्फ पाँचथरकी पुष्पा लिम्बू प्रथम, जुम्लाकी रोशनी बुढा दोस्रो र भोजपुरकी रुष्मा राई तेस्रो भइन्।
भेट्रान पुरुषतर्फ धरानका यमनाथ लिम्बू प्रथम, विजयकृष्ण राई दोस्रो र सुनसरीका रेशम लिम्बू तेस्रो भए। महिलातर्फ भोजपुरकी जमुना राई प्रथम र बिनिता राई दोस्रो भइन्।
विजेताहरूलाई कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली ले नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा उनले तावाभञ्ज्याङ क्षेत्र पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको उल्लेख गर्दै यसको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
उनका अनुसार मुन्दुम ट्रेलको प्रस्थान बिन्दु यही क्षेत्रमा भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने निश्चित छ। स्थानीय तहले अघि सारेका योजनाहरू कार्यान्वयन गर्न सके यस क्षेत्रले राष्ट्रिय आर्थिक समृद्धिमा समेत योगदान पुर्याउन सक्ने उनले बताए।
प्रतियोगिता भोजपुरका आमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको संयुक्त आयोजनामा तथा खोटाङको साकेला गाउँपालिकाको व्यवस्थापनमा सम्पन्न भएको हो। आयोजकका अनुसार पहिलो संस्करणकै प्रतियोगिताले मुन्दुम ट्रेललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ।